९ कार्तिक,दाङ– त्रिभूवन विश्वविद्यालयले प्रत्येक प्रदेशमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरे अनुसार लुम्बिनी प्रदेशको दाङ घोराहीमा क्याम्पस सञ्चालनका लागि आबस्यक पूर्वाधारको अबस्थाका बारेमा इन्जिनियरिङ अध्ययन संस्थानको टोलीले अवलोकन तथा निरिक्षण गरेको छ ।
क्याम्पस स्थापनाका लागि आबस्यक जग्गा सहित पूर्वाधारको बिस्तृत अध्ययनका लागि क्याम्पस सञ्चालनका लागि बनाईएको अध्ययन समितिले जग्गाको निरिक्षण एवं सरोकारवाला सँग छलफल गरेको छ ।
अध्ययन समितिका संयोजक तथा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन सुशीलबहादुर बज्राचार्यको नेतृत्वमा आएको टोलीले घोराही १५ भरतपुर र घोराही १७ भैसाहीमा जग्गाको निरिक्षण पनि गरेको छ । भरतपुर स्थित महेन्द्रबहुुमुखी क्याम्पसको स्वामित्वमा रहेको ५ विगाह र भैसाहीमा रहेको भैसाही बेलभार सामुदायिक वन उपभोक्ता समूहको २२ विगाह जग्गाको अबलोकन गरेर टोली फर्किएको छ ।
उक्त वन समूहको जग्गा क्याम्पस स्थापनाका लागि इन्जिनियरिङ अध्ययन संस्थानलाई दिने भनी उपभोक्ताको सहमती सहित वडा कार्यालय र घोराही उपमहानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरि प्रकृयालाई अघि बढाईएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुुभएको छ ।
यस अघि अध्ययन समितिका सल्लाहकार प्रा.डा.त्रिरत्न बज्राचार्यको टोलीले सम्भाब्यता अध्ययन गरिसकेको थियो । सोही टोलीको अध्ययनका आधारमा त्रिभूवन विश्वविद्यालयले लुम्बिनी प्रदेशको दाङ घोराहीमा क्याम्पस स्थापना गर्ने निर्णय गरेको हो । क्याम्पसको नाम इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस प्रस्ताब गरिएको छ ।।