२०८२ बैशाख १० गते मङ्गलवार

कर्णालीका मुख्यमन्त्रीको गलामा लगाइएको मालाको मूल्य एक लाख !



१० असोज, सुर्खेत- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरका शौखिन छन् । उनी कहिले हेलिकोप्टर चार्टर गरेर मुगु,कालिकोट, जुम्ला हुम्ला पुग्छन् त कहिले डोल्पा ।

०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएको थियो ।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकोप्टर चढेर शनिबार डोल्पा पुगे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखको हवाइ इन्धन खर्चेका छन् । इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेको छ ।

उनको यो भ्रमणमा अर्को अनौँठो दृष्य देखियो । गलामा मालाको भारी । शाही र बुढासँगै खर्चे बेहोर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाको गलामा ४०÷४० किलोको १ लाख मूल्यको माला थियो ।

हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । जसमा श्रमिकको ज्याला पनि जोडिएको छ ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका–६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए ।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो ।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए । ४० किलोको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही,बुढा र रोकायामाथि टिप्पणी भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्