१० भदौ , धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।
जलेश्वर अस्पताललाई ‘रेफर’ अस्पतालका रूपमा सुनिँदै आएको र फोन गरेपछि मात्रै चिकित्सक आउने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेका आधारमा मुख्यमन्त्री सिंह हिजो बेलुका छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुग्नुभएको थियो । निरीक्षणका क्रममा आकस्मिक कक्षमा चिकित्सक अनुपस्थित हुनुका साथै चिकित्सकको ‘ड्युटी’ सम्बन्धी तालिका नदेखिएको उहाँले जानकारी दिनुभयो । अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेका मुख्यमन्त्रीले सिंहले बताउनुभयो ।
छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहने चिकित्सकलाई ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताउनुभयो । अस्पतालमा ड्युटी रहेका बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने उहाँको भनाइ छ ।