१० भदौ, घोराही –
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ । उहाँले महाधिवेशन तोकिएकै समयमा सुरु हुने भएकाले नेता तथा कार्यकर्ताहरुलाई चुनावी तयारीमा लाग्न आग्रह गर्नुभएको हो ।
घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता चौधरीले क्रियाशील सदस्य विवादकै कारण यसअघि पार्टीको महाधिवेशन निर्धारित समय हुन नसकेको भन्दै अब क्रियाशील सदस्यको विवाद समाधान भइसकेकाले महाधिवेशनको मिति परिवर्तन नहुने बताउनुभयो ।
नेता चौधरीले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सरकार सञ्चालन सँगै तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न गम्भीर रहेको बताउनुभएको छ ।
उहाँले अधिवेशनका लागि प्राविधिकरुपमा काम भइरहेको भन्दै भदौको १० गतेभित्र हरेक जिल्लाहरुमा निर्वाचन अधिकृत तोकिने बताउनुभयो । नेता तथा कार्यकर्ताहरुलाई गुटगत राजनीतिभन्दा पार्टीलाई राम्रो बनाउन सक्ने योग्य, सक्षम र क्रियाशील व्यक्तिलाई नेतृत्वमा चुन्नसमेत आग्रह गर्नुभयो ।
कांग्रेसको १४औँ महाधिवेशन यही भदौको १८ गतेदेखि सुरु हुँदै छ । त्यसैगरी नेता चौधरीले वर्तमान सरकारले नै भूमिहीन तथा सुकुम्वासी जनतालाई जग्गाको मालिक बनाउने उहाँको भनाई छ ।
अहिले जनतामा विरोधीहरुले बर्तमान सरकार भूमिहीन तथा सुकुम्वासी जनताविरोधी रुपमा चित्रण गर्न खोजेको भन्दै नेता चौधरीले जतालाई भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ । उहाँले बर्तमान सरकार जनताको पक्षमै रहेको बताउनुभयो । तर पौडेल पक्ष भने क्रियाशील सदस्यरुको सूची माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।।