१३ चैत,घोराही ।
भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक शोभाराम बस्नेतले दाङका दश वटै पालिकामा भुमि सम्बन्धीको काम भईरहेको बताउनुभएको छ ।
उहाँका अनुसार जिल्लाका दश पालिका मध्ये सात पालिकामा भुमि सम्बन्धी लगत संकलनको काम सम्पन्न भईसकेको छ भने राप्ती गाउँपालिकामा अहिले लगत संकलन कार्य भईरहेको छ ।
यस्तै बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा भुमि सम्बन्धी समस्या समाधानका लागी समझदारी पत्रमा हस्ताक्षर भईसकेको आयोगका सदस्य बस्नेतले बताउनुभयो । ती दुई पालिकामा केहि दिन पछि सार्वजनिक सुचना जारी गरी लगत संकलन कार्यको सुरुवात गरिने उहाँले जानकारी दिनुभएको छ ।
सवै भन्दा पहिले बबई गाउँपालिकामा भुमि सम्बन्धी समस्या समाधानका लागी समझदारी पत्रमा हस्ताक्षर गरी लगत संकलन कार्य भएको हो । त्यहाँ अहिले नापीको काम समेत सम्पन्न भईसकेको छ ।
यस्तैगरी दंगीशरण गाउँपालिकामा पनि लगत संकलन भई नापीको लागी कर्मचारीहरुलाई तालिम दिने काम भईरहेको आयोगका सदस्य बस्नेतले बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तीनगर गाउँपालिका र गढवा गाउँपालिकामा लगत संकलन कार्य सम्पन्न भएको छ ।
नापी भईसकेको क्षेत्रमा पुनः छानविन गरी अबको एक डेढ महिनामा लालपुर्जा वितरण गर्ने तयारी रहेको आयोगका सदस्य बस्नेतले बताउनु भएको छ । उहाँका अनुसार दाङ सहित प्रदेशका १२ वटै जिल्लामा भुमि सम्बन्धी काम भईरहेको छ ।।