दाङ, १४ फागुन । शौचालय दिसा–पिसाब गर्नका लागि निर्माण गरिन्छ । वातावरण सफा र स्वच्छ राख्न व्यक्तिगत घरदेखि सार्वजनिक ठाउँसम्म अनिवार्य रूपमा शौचालय हुने गरेका छन् ।
शौचालय प्रयोगका लागि अनिवार्य रूपमा पानी चाहिन्छ तर पानी नहुँदा घोराही उपमहानगरपालिका–१ सल्लीकोट माले निवासी गोमती तिवारीको घरमा निर्माण भएको शौचालय भने दिसा–पिसाव गर्न नभएर अहिले कुखुरा बस्ने खोरको रूपमा परिणत भएको छ ।
उपमहानगरपालिका भित्रको त्यो गाउँमा पिउने पानीको स्रोत राम्रो छैन । एक गाग्रो पानी लिनका लागि आजभोलि करिब एकघण्टा हिड्नुपर्ने स्थानीयको बाध्यता छ । चैत–बैशाखतिर त झन २/३ घण्टा हिडेर खानेपानी जोहो गर्नुपर्छ ।
त्यस्ता ठाउँहरूमा पानीको सुविधा पु¥याउने राज्यको दायित्व भए पनि राज्यका प्रतिनिधिहरू उदासिन हुँदा स्थानीयले दुःख पाउनु परेको छ । गाउँमा खानेपानीको भरपर्दो व्यवस्था हुन सकेको छैन । जसले गर्दा गाउँलेका घरमा निर्माण भएका शौचालय प्रयोगविहीन अवस्थामा छन् ।
दिसा–पिसाव शौचालयमा गर्नुपर्छ भन्ने ज्ञान भए पनि साँझबिहान पिउनका लागि पानी धौ–धौ पर्ने भएका कारण बाध्यताले शौचालयलाई कुखुरा बस्ने खोर बनाउनु परेको गोमती तिवारीले बताइन् । उनले पानी नभएका कारण प्रयोग गर्न नसकेको शौचालयलाई आजभोलि चल्ला बस्ने खोर बनाएको बताइन् । ‘शौचालय बाहिर दिसा–पिसाव गर्न हुँदैन भन्ने थाहा छ तर भएर मात्र के गर्ने ? सौचालयमा सफा गर्ने पानी छैन’, उनले भनिन्, ‘त्यही बाध्यताले गर्दा दिसा–पिसाव जंगल र खोलाखालीमा गर्न बाध्य छौँ ।’
उनले सुरुमा शौचालय नबनाए सरकारी सेवासुविधा रोकिदिने भनेपछि २०७० मा देखाउनका लागि भए पनि घरमा शौचालय बनाएको बताइन् । ‘सरकारी सेवासुविधाबाट वञ्चित नहुनका लागि शौचालय बनाएका हौँ । सकेसम्म पानी भएको बेला प्रयोग गर्छौंँ’, उनले भनिन्, ‘तर आजभोलि चाहेर शौचालयमा दिसा–पिसाव गर्नसक्ने अवस्था छैन ।’
खुल्ला दिसामुक्त जिल्ला घोषणाका नाममा स्थानीयलाई अनिवार्य शौचालय बनाउन पठाए पनि शौचालय प्रयोगका लागि दीर्घकालीन बनाउनतर्फ ध्यान नदिँदा खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको सात वर्ष पूरा नहुँदै जिल्लामा सिङ्गो गाउँ नै शौचालय प्रयोगविहीन अवस्थाको बन्न पुगेको सल्लीकोट माले निवासी मालती पुनले बताइन् ।
घरमा शौचालय भए पनि पानीको अभावमा शौचालय प्रयोग गर्न नसकेको उनले बताइन् । पानीको अभावका कारण ननुहाउने र फोहरी देखिने मानिसहरू मालेगाउँका मानिस हुन भनेर वडाका अन्य गाउँका मानिसहरूले आपूmहरूलाई व्यङ्ग्य गर्ने गरेको मालतीले बताउने गरेको बताउँछिन् । ‘के गर्नु पानी छैन, हामीले चाहेर पनि सरसफाईमा ध्यान दिनसकेका छैनौँ । हामीलाई पनि सफा भएर हिड्न मन लाग्छ ।
बालबच्चालाई सफा राख्न मन हुन्छ’, मालतीले भनिन्, ‘तर के गर्ने पानी छैन, आजभोलि ५०÷६० घरले एउटै मुहानको पानी खानुपर्छ, त्यो पनि गर्मी समयमा सुकेपछि करिव २÷३ घण्टा हिडेर टाढाबाट पानीको व्यवस्था गर्नुपर्छ अनि यस्तो दुःखमा कसरी शौचालय प्रयोग गर्नु रु’, उनले आफ्नो गाउँमा खानेपानीको धारा बनाए पनि त्यो एक वर्ष पनि पानी चल्न नसकेकेको बताइन । जसले गर्दा उपमहानगरपालिकाको गाउँ भन्ने मात्रै भएको बताइन् ।
‘गाउँमा केही सुविधा छैन, पानीको धारा छ पानी आउँदैन, विद्युत पोल छन् विजुली छैन’, उनले भनिन्, ‘केही सुविधा नभएको गाउँलाई कसरी उपमहानगरपालिका भन्ने रु’ गोमती र मालतीको घरमा मात्र यो समस्या होइन गाउँमा पानीको सुविधा नहुँदा सल्लीकोट माले निवासी पूरै गाउँलेले नै शौचालय प्रयोगविहीन बनाएका छन् ।
४ वर्षअघि गाउँमा सोलार प्रणालीबाट लिफ्ट प्रविधि प्रयोग गरेर डाहीचिरा भन्ने ठाउँबाट पानी ल्याए पनि केही महिना चलेर मोटर बिग्रिएपछि अहिलेसम्म नबनेको सल्लीकोट माले टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताए । सरकारले सुरक्षित खानेपानी सहज रूपमा सबै नागरिकलाई पुु¥याउने बताए पनि आपूmहरूले वर्षौँदेखि स्वच्छ र सफा पानीबाट वञ्चित हुनु परेको बताए ।
गाउँमा बिग्रिएको खानेपानीको धारा बनाउनका लागि वडा कार्यालय, उपमहानगरपालिकादेखि खानेपानी सरसफाई डिभिजन कार्यालयसँगै आफ्नो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई भने पनि कसैले समस्या समाधानका लागि पहल नगरेको उनले दुखेसको पोखे ।
गाउँमा पानी ल्याउन नसक्दा टोलका अधिकांश घरमा शौचालय भए पनि प्रयोगविहीन अवस्थामा रहेको अध्यक्ष तिवारीले बताए । खानेपानीकै समस्या भएको अवस्थामा सरसफाईका लागि थप पानीको व्यवस्था नहुँदा आफूहरू खुला ठाउँमै दिसा–पिसाव गर्न बाध्य भएको स्थानीयले बताउने गरेका छन् । टोल विकास समितिका अध्यक्ष तिवारीकाअनुसार सल्लीकोट मालेमा ७०–७५ घररिवार बस्नेत गरेका छन् ।