१४ फागुन,दाङ ।
चालु आर्थिक बर्ष २०७७/०७८ को सात महिना पूरा हुँदासमेत स्थानीय तहहरुले लक्ष अनुसारको राजस्व उठाउन सकेका छैनन् । दाङका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा राजस्व संकलन गर्ने लक्ष्यको एक तिहाइ पनि राजस्व संकलन गर्न नसकेका हुन् ।
राजपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्त सम्म २६ लाख राजस्व संकलन गरेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठडीले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
यस्तै घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा पनि लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने घोराही उपमहानगरले २५ करोड राजस्व संकलनको लक्ष्य लिएको छ ।
हालसम्म दुईवटै उपमहानगरपालिका करिब १० करोड राजस्व सकलन भएको छ । घोराही उपमहानगरपालिका राजस्व अधिकृत कृष्ण केसीले मालपोतबाट आउनुपर्ने करिब १२ करोड आउन बाँकी रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मालपोतबाट राजस्व नआएको उहाँले बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि मालपोत कार्यालयबाट आउनुपर्ने करिव १० करोड बराबरको राजस्व नआएको जनाएको छ । नगरबासीहरुले तिर्नुपर्ने घरवहाल कर, व्यावसायिक करलगायतका राजस्व पनि नतिरेका कारण राजस्व संकलनमा कमी भएको स्थानीय तहहरुले बताएका छन् ।।