१२ माघ,घोराही –
लुम्बिनी प्रदेशबाट तीन सिट सहित राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि मतदान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान कार्य सुरु भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबाटले मतदान गरेसंगै मतदान प्रकृया सुरु भएको हो ।
चारवटा मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिनुुभएको छ । मतदानस्थलमा स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइएको छ भने कोरोना संक्रमितहरुलाई सुरक्षितढंगले मतदानको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
राष्ट्रियसभामा लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिन लागेको छ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हँदैछ ।
जस अनुसार गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहनुुभएको छ ।
एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहनुुभएको छ ।