२०८२ बैशाख १८ गते बुधवार

सफल उद्यमीको परिचय बनाउँदै थापा



१० पुस,घोराही । पछिल्लो समय महिलाहरुले घर बाहिरका कामका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । घरमा सिमित हुने महिलाहरु सामाजिक क्षेत्रमा पनि अघि आएका छन् । यसका साथै महिलाहरुले आत्मनिर्भरताका लागि आयआर्जनका काम गर्दैछन् । राजनीतिक क्षेत्र देखि सामाजिक क्षेत्रमा महिलाको उपस्थिति र भूमिका निकै बढेको छ । महिलाहरु आफू आत्मनिर्भर हुने मात्रै होइन अरुलाई पनि रोजगार दिने अवस्थामा पुगेका छन् । यसैको एक उदाहरण हुनुन्छ घोराही उपमहानगरपालिका वडा १५ की महिला उद्यमी बिष्णु थापा । थापाले आफु आत्मनिर्भर बनेसंगै अन्य महिलाहरुलाई आत्मनिर्भर बनाउने काम थाल्नुभएको छ ।

विगत दुई दशक देखि अरुलाई विभिन्न सीप सिकाउन थाल्नुभएको हो । व्युटिसियन, कटाई÷सिलाई, गुडिया बनाउने, अल्लोका सामग्री बनाउने, अचार बनाउने लगायतका विभिन्न ३० प्रकारको तालिम दिदैँ आउनुभएको छ । उहाँले भन्नुभयो–“हाल मैले बिभिन्न ३० प्रकारका तालिमहरु दिदैँ आएकी छु, सबैको प्रमाणपत्र म संग छन्, व्यावहारिक रुपमा सिकाउन थालेको दुई दशक भयो ।”उहाँले भन्नुभयो ।

२०५५ सालवाट आफु उद्यम संगै प्रशिक्षण दिने काममा लागेको उहाँको भनाई छ । अहिलेसम्म हजारौ महिलाहरुलाई सीप सिकाउनुभएको छ । महिलाहरु आत्मनिर्भर बन्न आवश्यक भएको भन्दै उहाँले सीप दिने कामको थालनी गरेको बताउनुभयो । सीप प्रदान गरेका महिलाहरु हाल अधिकांशले आयआर्जको काम थालेको उहाँको अनुभव छ । आफुले काम सुरु गर्दा महिलाहरु बाहिर आएर काम गर्ने बातावरण नभएको भन्दै पछिल्लो समय भने महिलाहरु स्वतन्त्र रुपमा काम गर्ने बातावरण बनेकोमा खुसी लाग्ने गरेको बताउनुभयो । “मैले काम सुरु गर्दाका समयमा महिलाहरु घरबाहिर निस्केर काम गर्ने बातावरण थिएन्, बाहिर काम गर्ने महिलाहरुलाई बिभिन्न लाल्छना लगाउने कुरा काट्ने गर्दथे, तर अहिले महिलालाई काम गर्न धेरै सहज छ ।”उहाँले भन्नुभयो । आफुले सीप सिकाएका अधिकांश महिलाहरुले आफैले उद्यम तथा आयआर्जनका काम सुरु गरेका छन् । प्रशिक्षण दिन दाङ, रोल्पा, सल्यान, प्युठान, रुकुम लगायत नारायणघाट पोखरा मात्रै होइन देशका अधिकांश बजार क्षेत्रमा पुगेको बताउनुभयो ।

प्रशिक्षण दिएरै मासिक रुपमा एक लाख बढी कमाउने गरेको उहाँको भनाई छ । “आम्दानीको कुरा गर्दा मासिक रुपमा एक लाख बढी नै हुन्छ ”उहाँले भन्न्ुभयो । उद्यम तथा प्रशिक्षणबाटै हरेक आवश्यकताहरु पुरा गर्न सकिएको बताउनुभयो । यहाँसम्म आउन थापालाई त्यती सजिलो भने भएन । एसएलसी परिक्षा सकिए लगत्तै स्कुल विदा हुँदा उहाँलाई सीप सिक्न मन लागेर गुडिया बनाउने तगाएत सिलाई तालिम सिक्नुभयो । घरपरिवारको साथ विना सिकेको तालिमलाई उहाँले व्यावसायमा परिणत गर्दा भने केही समस्या भएको थियो । घरमा एउटा सिलाई मेसिन किन्न लगाएर दुई हजार रुपैँयाको लागतमा उहाँले व्यावसाय थाल्नुभएको हो । त्यही समय घरेलु तथा साना उद्योग कार्यालयले पाँच वटा मेसिन सहयोग गरेसंगै उहाँको उद्यम यात्रा अगाडी बढेको हो ।

घोराहीमै उहाँले ओम सिलाई तथा तयारी पोशाक सप्लायर्स संचालन गर्नुभएको छ । भने अन्य महिलाहरुलाई रोजगारी प्रदान गर्नुभएको छ । उहाँले नारी सीप समाज भन्ने संस्था स्थापना गर्दैै यही संस्थाको आयोजनामा विभिन्न ठाउँमा तालिमको आयोजना गर्ने गरेको बताउनुभयो । यसका साथै स्थानीयपालिका, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा हुने तालिममा प्रशिक्षण दिने गरेको बताउनुभयो । “गत बर्ष दाङका १५÷२० वडामा तालिम संचालन कार्यक्रम गरिएको थियो, तर यो बर्ष कोरोनाका कारण प्रभावित भएको छ”उद्यमी थापाले भन्नुभयो ।

सीप सिकेर आत्मनिर्भर हुँदा आफु पूर्ण रुपमा सन्तुष्ट भएको बताउनुभयो । आफु संगै अरु उद्यमीहरु उत्पादन गर्न पाउदा सन्तुष्ट लाग्ने गरेको बताउनुभयो । यही कामवाटै आफुले स्थानीय देखि राष्ट्रिय सम्मान पाउनुभएको छ । २०६७ सालमा नेपालका एक सय एक उद्यमीमा पर्दै राष्ट्रियस्तरको सम्मान पाउनुभएको थियो । श्रीमानको भरमा खाली बस्नु भन्दा सानै भएपनि पेशा व्यवसाय तथा उद्यममा लाग्न अन्य महिलाहरुलाई सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्