९ मंसिर,घोराही –
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंसिर १२ गते जिल्ला भेलालाई सम्बोधन गर्न दाङ आउनुहुने भएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी दाङको तुलसीपुरमा सम्पन्न बैठकले मंसिर १२ गते तुलसीपुरमा जिल्ला भेलामा पार्टीका अध्यक्ष नेपाललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
भेला आयोजना गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जिल्ला अध्यक्ष सुरामणि बेलबासेका अनुसार मंसिर ९ गते जिल्लाका दश वटै पालिकाको बैठक सम्पन्न गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी मंसिर १० गते सबै जनसंगठनको बैठक गर्ने निर्णय गरिएको छ । जिल्ला कमिटी अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षता एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यतामा भएको बैठकले पार्टीका नेता मेघबहादुर विसीको निधनमा दुःख व्यक्त गरेको छ ।।