१० मंसिर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्।
मंगलबार राति डयुटीबाटै सम्पर्कबिहीन भएका डीएसपी चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका स्रोतले बतायो।
रातिको समयमा ड्युटीमै रहेका डीएसपी सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा प्रहरी परिचालन गरी खोजी गरेको थियो।
सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने डीएसपी चौधरी आफैँ सम्पर्कमा आएको बताएको छ। कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले डीएसपी चौधरी बुधबार बिहान गोदावरी नगरपालिकाबाट सम्पर्कमा आएको बताए।
‘उहाँ ड्यटीमै हुनुहुन्थ्यो, नेटवर्कका कारण सम्पर्क हुन नसकेको रै‘छ, बुधबार बिहान गोदवारी नगरपालिकाबाट सम्पर्कमा आउनु भएको हो’, एसएसपी सिंहले नेपालखबरसँग भने। डीएसपी चौधरीले आफू सूचना संकलनका लागि गएको बताएको उनले जानकारी दिए।
उनले डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको बताए। ‘उहाँलाई अहिले जिल्ला बोलाइएको छ, बाँकी कुरा अनुसन्धानपछि थाहा हुन्छ’, एसएसपी सिंहले भने। डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।