८ कार्तिक,घोराही –
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ । केन्द्रले अधिकांश स्थानीय तहलाई यसअघिदेखि नै विवरण पठाउन ताकेता गरे पनि स्थानीय तहबाट यकिन विवरण प्राप्त नभएकाले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अनुसार विवरण अद्यावधिक गर्न विवरण माग गरेको हो ।
विद्यालय संख्याका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तयार गरिने भएकाले कुनै विद्यालय छुट भएको भए कात्तिक मसान्तभित्र अनिवार्य रुपमा विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउन सूचित गरिएको छ ।
विवरण नपठाउने विद्यालयले प्राप्त गर्ने अनुदान र सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले प्राप्त गर्ने सेवासुविधाबाट वञ्चित हुने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।।