२०८१ चैत्र १० गते आइतवार

म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउदै



९ असोज, घोराही –
व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिल नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि भेटिएका छन् । चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी गर्दै आएको विभागले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका १२ जना कर्मचारी थप गरेर अहिले दशैँतिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।

असोज सुरु भएपछि विभागले अहिलेसम्म ४ सय ५० वटा पसलमा अनुगमन गरिसकेको जनाएको छ । जसमध्ये धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र वस्तुको वास्तविक मूल्यभन्दा निक्कै धेरै लिने गरेको भेटिएको उहाँले बताउनुभयो ।

त्यस्ता व्यापारीलाई चेतावनी दिने गरेको र आउने दिनमा पनि त्यस्तो भेटिए कानुनी कारबाही गरिने उहाँको भनाइ छ । केही व्यापारी तथा फर्मलाई कानुनी कारबाही पनि गरिएको उहाँले बताउनुभएको छ ।।

 

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्