२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा इञ्जिनियरिङ क्याम्पस स्थापनाको तयारी



९  असोज, घोराही, –
दाङमा लुम्बिनी प्रदेशको सरकारी इञ्जिनियरिङ क्याम्पस स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । क्याम्पस सञ्चालनका लागि सबै तहबाट स्वीकृत भइसकेपछि अन्तिम तयारीका लागि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले एक समिति गठन गरेको छ ।

सहायक डिन प्रा.डा. सुशील बहादुर बज्राचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको कन्सल्टेन्सी विभाग प्रमुख सहप्राध्यापक नारायणप्रसाद गौतम, सिभिल इञ्जिनियरिङ विभागका डा. सुरज लामिछाने र कर्मचारी शाखा प्रमुख पूर्णप्रसाद गौतम रहनुभएको छ ।

यो समितिले दाङमा क्याम्पस स्थापना र सञ्चालनका लागि सम्पूर्ण खाका तयार पारेर दुई महिना भित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ । क्याम्पस स्थापनाका लागि अन्य प्रक्रिया पूरा भइसकेको नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

आगामी शैक्षिक बर्षदेखि कक्षा सञ्चालन गर्ने गरी पहल भइरहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म लुम्बिनी प्रदेशमा सरकारी इञ्जिनियरिङ क्याम्पस छैन । क्याम्पसको पूर्वाधार तयारीका लागि अनुदान आयोगले पाँच करोड बजेट बिनियोजन गरिसकेको छ ।।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्