९ असोज,घोराही –
सामुदायिक वनका उपभोक्ताहरुले आफैले संरक्षण गरेको रुख जंगलमा कुहिने तर उपभोक्ताले प्रयोग गर्न नपाउने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा हिजोदेखि तुलसीपुरमा शुरु भएको वन अधिकार सम्मेलनमा सहभागी उपभोक्ताहरुले संरक्षणकर्मीको नाताले वनको उपभोग गर्ने अधिकार उपभोक्ताहरुले नै पाउनुपर्ने माग गरेका हुन ।
आफैले संरक्षण गरेको वनमा रुख कुहिएर खेर गइरहेको छ तर उपभोक्ताले घर बनाउन पनि नपाएको अवस्था रहेको सामुदायिक वन उपभोक्ताहरुले गुनासो गरेका छन् । वन अधिकारको माग गर्दै देशभरका सामुदायिक वन उपभोक्ताहरु तुलसीपुरमा भेला भएका हुन् ।
सामुदायिक वन, सामुदायिक अधिकार, जनताको वन जनताको धन, वन माथिको हस्तक्षेप बन्द गरलगायतका नारा लेखिएका प्लेकार्ड र वन समूहका ब्यानर बोकेर आएका उपभोक्ताहरुले उपभोक्ताहरुको अधिकार नखोस्न सरकारलाई खबरदारी गरेका छन् ।।