९ भदौ, घोराही –
घोराही मुर्कुटी सडक सुधार सरोकार समितिले खानी देखी उद्योग सम्म बैकल्पिक औद्योगिक मार्ग निर्माण तर्फ यथाशिघ्र ध्यान दिन सरकार सँग आग्रह गरेको छ । कच्चा पदार्थ बोक्ने टिप्परहरुको चापका कारण अहिलेका सडकहरु क्षतिग्रस्त बन्दै गएको भन्दै सरोकार समितिले खानी देखी उद्योग सम्म बैकल्पिक औद्योगिक मार्ग बनाउन सरकार सँग आग्रह गरेको हो ।
समितिका संयोजक नारदमणि पोख्रेल द्धारा प्रेस बिज्ञप्तीमा घोराही मुर्कुटी सडक खण्ड कालोपत्रे गरेको एक महिना पनि नटिकेको भन्दै आर्थिक नोक्सानी र नागरिकको यात्रा जोखिमपूर्ण भएको उल्लेख छ । तत्काल भत्केका ठाउँमा कालोपत्रे गर्न, नवलपुर देखी खानी क्षेत्र सम्मको सडकमा टिप्परहरु घण्टौँ सम्म पार्किङ हुदै आएकाले तत्काल हटाउन, साँझ ७ बजे देखी बिहान ६ बजे सम्म मात्रै टिप्पर चल्न पर्ने र टिप्परको गति, भारवहन र ध्वनी प्रदुषण जाँचमा कडाई गर्न समेत माग गरिएको छ ।
मदनभण्डारी लोकमार्गमा पर्ने घोराही मुर्कुटी सडक खण्ड भएर घोराही सिमेन्ट, सम्राट सिमेन्ट र अग्नी सिमेन्टका साढे २ सय बढी टिप्परहरु एकै साथ चल्दा कालोपत्रे गरेको सडक भताभुंग भएको छ । जस्का कारण दुर्घटना बढ्दै गएको छ भने पैदलयात्रु हिड्न सक्ने अबस्था नरहेको समितिले जनाएको छ ।।