२०८१ असार २ गते शनिवार

जेष्ठ नागरिकलाई भत्ता लिन सधैको सास्ती

‘वृद्धभत्ता गाउँघरमै पाउनुप¥यो’


आईतबार घोराही स्थित शाईन रेसङ्गा डेभलपमेन्ट बैंकमा पुगेका जेष्ठ नागरिक

आईतबार घोराही स्थित शाईन रेसङ्गा डेभलपमेन्ट बैंकमा पुगेका जेष्ठ नागरिक

९ साउन,घोराही – सडक छेउमा लहरै बसेका बृद्धबृद्धाहरु झट्ट हेर्दा कुनै धार्मिक कार्यक्रममा उपस्थित भएजस्तै देखिन्छन् । प्रवचन सुन्न बसेका जस्तो देखिने उनीहरुको पीडा भने अर्कै छ । स्थानिय सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता लिनका लागि उनीहरु यसरी लाइन लागेका हुन् । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा १९ वटै वडामा बैंक मार्फत् बृद्ध भत्ता वितरण गरिरहेको छ । बैंकमा भत्ता लिन आउने बृद्धबृद्धाले यस्तै लामो लाइन बस्नुपर्छ । बैंकले कहिले इन्टरनेट समस्या देखाउँछ त, कहिले अरु नै समस्या । घोराही उपमहानगरपालिकाले गएको बैशाख महिनादेखि असार महिनासम्मको सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ । पहिला घरदैलोमै पुगेर दिइने भत्ता सहजताका लागि बैंक मार्फत् वितरण सुरु गरिएको हो । तर, यसबाट बृद्धबृद्धालाई झनै समस्या भएको छ । भत्ता लिन बैंकको सडक छेउँमा दिनभर कुर्नुपर्ने अवस्था छ ।

घोराही बजारस्थित शाईन रेसङ्गा डेभलपमेन्ट बैंक पुगेका घोराह १३ कलमघारीका ७९ वर्षीय अमरबहादुर सुनारले भत्ता लिन असाध्यै सास्ती खेप्नुपरेको गुनासो गरे । उनले भने, ‘चेकमा लेख्न लगाउने, बुढेसकालमा घण्टौं लाममा बस्नुपर्ने, लाईमा बस्दा ज्यानलाई निकै समस्या भयो ।’
सोही वडाकी ७२ वर्षीया हरिमाया चौधरीले पनि जेष्ठ नागरिकले पाउन भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको बताइन् । भत्ता लिन धेरै समय खर्चनुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ‘पहिले घरमै दिन्थ्यो तर अहिले दुःख दियो’ उनले भनिन् ‘अहिले बैंकबाट दिन थालेकाले फेरि झन्झट र समस्या भएको छ ।’

घोराही उपमहानगरपालिका १५ रतनपुरका ७० वर्षीया मोहन शर्मा सामाजिक सुरक्षा भत्ता बुझ्न कै लागि विहान ९ बजेनै बैंक पुगे , भत्ता लिनका लागि कागजपत्र पु¥याउन उनलाई निकै सकस पयो । निकै सकस पछि अपराह्न ४ बजे मात्रै हातमा भत्ता परेको छ ।
अमर बहादुर , हरिमाया र मोहन जस्ता धैरे जेष्ठ नागरिकले वृद्धा भत्ता बुझ्न समस्या हुँदै आएको छ । वृद्धभत्ता लिन लाइन बसेका वृद्ध कोही कान नसुन्ने तथा हिँड्डुल गर्न नसक्ने समस्या भएको अवस्थामा स्थानीय सरकारले अब घरघरमा भत्ता वितरण गर्नुपर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

घोराही क्षेत्रबाट ६ हजार २ सय जनाले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङ्क स्थानीय सरकारसँग रहेको छ । आर्थिक वर्ष २०५१/५२ बाट नेपाल सरकाले जेष्ठ नागरिकलाई भत्ता वितरण गर्न थालेको हो । तर घोराही उपमहानगरले आर्थिक वर्ष २०७३/७४ देखि बैंक सिस्टममा व्यवस्थापन गरिएको घोराही उपमहानगरपालिकाका पञ्जीकरण शाखाका प्रमुख दिवाकर योगीले बताए । घोराही उपमहानगरपालिकाको १९ वटा वडाका सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिइराखिएको बताए । उनले आर्थिक वर्ष २०७८/७९ मा ९१ करोड ४० लाख २४ हजार २ सय १ रुपैयाँ वितरण गरिएको बताए ।

उनका अनुसार जेष्ठ नागरिक अहिले चौथो किस्ता बापतको रकम लिन बैंक सम्म धाउने गरेका छन् । नगरभित्रका शाईन रेसङ्गा डेभलपमेन्ट बैंक, एनआइसि एसिया, प्रभुु बैकं लगाएत १३ वटा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको छ । बैंकमा आउन नसक्ने जेष्ठ नागरिक र क वर्गका अपांगताको लागि घरमै गएर खाता खोलेर सहजताका लागि गाउँमै गएर भत्ता वितरण शुरु भएको घोराही उपनगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । ‘सरकारी नीतिअनुसार सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता बैंकिङ प्रणालीबाट दिने व्यवस्था छ ।’ चौधरीले भने, ‘आर्थिक सुशासनका लागि बैंकिङ प्रणाली लागू गर्नैपर्छ ।’ विगतमा घरदैलोमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएपनि कतिपय ठाउँमा अनियमितता र असुरक्षा समेत भएकाले बैंकिङ प्रणाली अपनाइएको बताए । भत्ता लिन जाँदा जेष्ठ नागरिक सबै एकै पटक बैंकमा जाने बानी बसेकाले उनीहरुलाई भत्ता लिन सास्ती भएको बताए । ‘भत्ता बुुझ्न अन्य समयमा पनि जान सकिन्छ , उनले भने, ‘तर उहाँहरु पछि गए भत्ता हराउँछ भन्ने भ्रमका कारण एकै पटक जाँदा बैंकमा भिड बढ्छ ।’ तर पनि यो समस्या केही समयपछि सहज हुने प्रमुख चौधरीको भनाइ छ ।

गर्मीको समयमा जेष्ठ नागरिकलाई बैकमा बस्नु पर्दा अफठ्याारो भएकोले भावी दिनमा यसको दिर्घकालिन समाधान खोज्नु पर्ने घोराही उपमहानगरपालिकाका बरिष्ठ समाजसेवि कृष्ण बुढाले बताए । यस्तो गर्मीमा बैंकमा लाइन बस्न जेष्ठ नागरिकलाई निकै गाह्रो हुने बुढाको भनाई छ । बैकंको खातामा पैसा आउनु त राम्रो भएको बताउदै पैसा निकाल्ननै दुख हुदा चित्त नबुझको घोराही १३ वनगाउँकी पर्वाती चौधरीले बताइन । सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न बैकिङ्ग प्रणाली अवलम्बन गरिएको थियो । तर, यसलाई प्रभावकारी नबनाउँदा जेष्ठ नागरिकले सास्ती खेपिरहेका छन् ।।

 

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्