१२ वैशाख, घोराही – ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दिएका छन् ।
पालिका अध्यक्ष र मेयरमा ९ सय ७, उपाध्यक्ष र उपमेयरमा ५ सय ८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९ सय २१, वडा सदस्यमा ३ हजार ३ सय ३, महिला सदस्यमा १ हजार ५ सय ७६, दलित महिला सदस्यमा १ हजार २ सय ३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
उम्मेदवारी दिनेमध्ये ३ हजार ५ सय ६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ ।
चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुने छ । भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।।