२०८२ बैशाख ९ गते सोमवार

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो ३२ घन्टामा पनि नियन्त्रणमा आएन



१२ चैत, दाङ- दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

सोमबारदेखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको ३२ घण्टा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट दमकल ल्याइएको भए पनि आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, नेपागंज उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिए ।

आगलागीबाट अरबौंको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्