२०८१ असार ६ गते बुधवार

२ करोड थान मतपत्र छापिने, जनक शिक्षासँग छलफल हुँदै



११ चैत, घोराही – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका झन्डै एक करोड ७७ लाख मतदाताका लागि यो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिनुभयो ।

आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुनेछ । मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचनाको विवरण छानबिनको काम भइरहेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेस गर्न अनुरोध गरेको थियो ।

यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालासँगको अन्तरक्रिया हिजो बुधवारदेखि देशभर सुरु भएको आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्