१२ चैत,घोराही ।
घोराही कारागारमा रहेका कैदीबन्दी कैद सजाय कटाउँदै सीप सिकिरहेका छन् । कारागारको समयलाई सदुपयोगसँगै कैद भुक्तानपछि घर फर्कदा जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले कारागारभित्रै कैदीबन्दीहरु सीप सिकाउन थालिएको हो ।
कारागारभित्र लामो समय कैद सजाय काटिरहेका कैदीबन्दीहरुले फर्निचर, बेतबासबाट कुर्सी बनाउनेसँगै पछिल्लो समय कम्प्युटर समेत सिक्न थालेका छन् । कारागारभित्रै विगत एक बर्षदेखि अध्ययन गर्दै आएका कैदीबन्दीहरुले दुई महिनादेखि कम्प्युटर सिक्न थालेका हुन् ।
रोटरी क्लबले कारागारका कैदीबन्दीहरुका लागि दश थान कम्प्युटर सहयोग गरेपछि कारागारमा रहेका कैदीबन्दीहरुले पढाईसँगै कम्प्युटर सिक्न थालेको घोराही कारागारका जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिनसभएको छ ।
कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई सकारात्मक कार्यमा लगाउने उद्देश्यले पढ्नका लागि कम्प्युटरको व्यवस्था गरिदिएको र उनीहरुले मिलाएर सिक्न थालेको उहाँले बताउनुभयो । उनीहरुलाई सिकाउने पनि कैदीबन्दीभित्रैबाट व्यवस्था गरिदिएको समेत उहाँले जानकारी दिनुभयो ।।