१३ फागुन,घोराही –
घोराही तुलसीपुर फोरलेन सड़क निर्माणको क्रममा काटिएका रुखहरुको लेखाजोखा नभएको पाइएको छ । कटानअघि एकिन भएका रुखहरु काटिसकेपछि समयमै वन डिभिजन कार्यालयमा हस्तान्तरण नहुँदा काठ बेवारिसे मात्रै होइन तिनको व्यवस्थापन के भइरहेको छ भन्ने लेखाजोखा छैन ।
२०७७ असार २६ गते वन डिभिजन कार्यालय घोराही दाङमा भालुबाङ – बाग्दुला भीमगिठे – चन्द्रौटा – कृष्णनगर – लमही – घोराही – तुलसीपुर सडक योजनाका तत्कालीन प्रमुख इञ्जिनियर पारसमणि हमालले रुख कटानका लागि सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । भदौ मसान्तसम्म रुख कटान सक्ने गरी सहमति भए पनि कोरोनाको कारण देखाउँदै योजनाले काम नसकिएको भन्दै २०७७ असोज ५ गते २५ दिनका लागि म्याद थप भएर थप रुखहरु काटिएका थिए ।
डिभिजन वन कार्यालयले दुई पटक पत्र पठाएर ताकेता गरिसकेको छ तर सडक योजनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । काटिएका रुखहरु तुलसीपुर –१८ दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगको जग्गामा घाटगद्दी गरिएको भएपनि काठको अवस्थाका बारेमा कुनै लेखाजोखा नभएको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताउनुभएको छ ।।
घोराहीको कुइरे पानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको फोरलेन सडकको छेउमा पर्ने एक हजार दुई सय ७५ वटा रुखहरु कटान गर्नुपर्ने भन्दै नापजाँच भएको थियो । उक्त रुखबाट १७ हजार दुई सय ४६ क्यूफिट काठ आउने नाप तयार पारिएको सहायक वन अधिकृत चौधरीको भनाई छ ।।