९ पुस,घोराही ।
दाङमा केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा मसाल जुलुस प्रदर्शन गरिएको छ । बिहिबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भ्रातृ संगठन अनेरास्ववियु दाङले घोराहीमा मसाल जुलुस प्रदर्शन गरेको हो । घोराहीको तुलसीपुर चोकमा प्रदर्शनसहित अनेरास्ववियुका नेता कार्यकर्ताहरूले नाराबाजी सहित मसाल जुलुसमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।
मसाल जुलुसलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले प्रतिनिधिसभा विघटनले जनता भावना माथि चोट पुर्याएको बताए । जनताको अधिकार स्थापित गर्ने सभा नै प्रधानमन्त्रीले भंग गरेपछि सभा विघटनसँगै प्रधानमन्त्री ओलीले जनताको अधिकार खोसेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको असंवैधानिक कदमले जनताको मुटुमा खिल रोप्ने काम गरे, जसले जनतालाई धेरै पीडा दिएको छ ।’ संसद विघटन भएयता दाङ सहित देशका विभिन्न जिल्लामा विरोध सभा तथा प्रदर्शन भईरहेका छन ।