९ पुस,घोराही । घोराहीमा सरकारी निकायका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा दिन प्रतिदिन खस्कदै गएको समयमा नीजि क्षेत्रबाट स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने क्रम जारी रहेको छ । एकपछि अर्को सुविधासम्पन्न अस्पताल संचालन भइरहेका छन् । सोही क्रममा प्रदेश स्तरीय गायत्री नेशनल हस्पिटल प्रालि संचालनमा आएको छ ।
घोराही उपमहानगरपालिका वडा नंं १४ स्थित निर्माणाधिन सभागृह अगाडी २५ बेडको अस्पताल खुलेको छ । बिशेषज्ञ सेवा सहित हस्पिटल संचालन गरिएको छ । गत कात्तिक १५ गते देखि हस्पिटलले सेवा दिन सुरु गरेको भएपनि औपचारिक उद्घाटन गरिएको छैन । उद्घाटन नगरिएको भएपनि सेवा दिन थालिएको संचालक समिति सचिव अमृत श्रेष्ठले जानकारी गराउनुभयो । कोरोना भाइरसका कारण औपचारिक उद्घाटन नगरिएपनि अस्पतालले सेवा सुरु गरिसकेको जानकारी गराउनुभयो । “गत कात्तिक १५ देखिनै हस्पिटल संचालन गरिएको हो, कोरोना भाइरस संक्रमण त्रासमा औपचारिक उद्घाटन भएको छैन्, तर केही समयमै औपचारिक रुपमा उद्घाटन गरिनेछ”उहाँले भन्नुभयो ।
उहाँका अनुसार माघ महिनाको अन्तिम सम्म उद्घाटनको तयारी गरिएको छ । क्लिनिकल तथा नन क्लिनिकल टिम गरी १७ जनाको लगानी रहेको छ । हस्पीटल संचालनका लागि पाँच करोड रुपैया लगानी गरिएको छ । हस्पिटलमा २४ घण्टा अनुभवि मेडिकल अफिसरद्वारा इमरजेन्सी सेवा, विशेषज्ञ वहिरंग ओपिडी, अत्याधुनिक प्रयोगशाला तथा प्याथोलोजी, डिजिटल एक्सरे तथा इसिजी, फार्मेसी, फिजियोथेरापी, एम्बुलेस सेवा सुरु भएको बताउनुभयो ।
यस्तै अत्याधुनिक मेशिनवाट रंगिन तथा डव्लर भिडियो एक्सरे, मेजर तथा माइनर सर्जरी अपरेसन सेवा, गर्भवती चेकजाँच तथा सुरक्षित गर्भतिन सेवा, परिवार नियोजन तथा मातृ शिशु तथा खोप सेवा सुरु गरिएको श्रेष्ठले जानकारी गराउनुभयो । “सबै सेवाहरु २४ सै घण्टा सुचारु हुनेछन्, भन्नुभयो । अस्पतालको सबै सेवामा बिशेषज्ञ सहीतको सेवा रहेका छन् ।
प्रतिवार्डमा डक्टरहरु समेतको लगानी भएकाले सेवामा थप गुणस्तरीयता हुने संचालक समिति सचिव श्रेष्ठले बताउनुभयो । यहाँका बिरामीलाई सहज उपचार सुविधाका लागि प्रदेश स्तरीय हस्पिटल संचालन गरिएको उहाँको भनाई छ । “कात्तिक १५ गते देखि दैनिक १० देखि १५ जना बिरामीहरु आउने गर्नुभएको छ, धेरै जसो बिरामीहरु ओपिडी सेवाका लागि आउने गर्नुभएको छ”रिफरको अवस्था अहिले सम्म आएको छैन् । अन्य हस्पिटलको भन्दा व्यवस्थित तथा राम्रो सेवा दिने प्रतिवद्ध रहेको अस्पताल प्रशासनले जनाएको छ ।
भर्खर संचालित हस्पिटलले जिल्लाका अन्य अस्पतालहरुको तुलनामा केही सस्तो लागतमा सेवा दिने बताएको छ । यस्तै जेष्ठ नागरिकका लागि ५० प्रतिशत छुट, अपांग, असहाय, गरिव, सिमान्तकृत बर्गका लागि ४५ प्रतिशत छुटमा सेवा दिने संचालक समिति सचिव श्रेष्ठले बताउनुभयो । यस्तै उद्घाटनको समयमा हरेक रोगका बिरामीलाई निशुल्क उपचार गर्ने उहाँको भनाई छ । “उद्घाटन समयको एक साता विरामीहरुलाई निशुल्क चेकजाँच गरिनेछ –उहाँले भन्नुभयो । दाङ जिल्लामा नीजि क्षेत्रबाट अस्पताल संचालन गर्ने क्रममा पछिल्लो अस्पतालका रुपमा गायत्री संचालनमा रहेको छ । घोराहीमा गोर्खा अस्पताल, बुद्ध इन्टरनेशनल, मितेरी अस्पताल, दिपज्योती अस्पतालले घोराहीमा सेवा दिइरहेका छन् ।