९ मंसिर । प्रतिपक्षी दल जनता समाजवादी पार्टीले नेपाल-भारत सीमानाका तत्काल खुला गरी व्यवस्थित एवम् सहज बनाउन माग गरेको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि सीमानाका बन्द हुँदा गम्भीर समस्या देखिएको बताएका छन् । ‘नेपाल सरकारद्वारा गत चैत १० गतेदेखि कोरोना (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा गरियो,’ अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका सीमानाकाहरु पनि बन्द गरिए, तर सरकारको पूर्व तयारी निकै कमजोर रह्यो ।’
लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र खासगरी तराईरमधेशका जनताको जीवन अन्तन्त कष्टकर हुन गएको जसपाको निष्कर्ष छ ।
‘जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, सामाजिक आदि क्षेत्रमा गम्भीर समस्याहरु देखा परिरहेका छन्,’ जसपाले भनेको छ, ‘तसर्थ, जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमानाकाहरुलाई तत्लका खुला गरी व्यवस्थित एवम् सहज गर्नुपर्दछ ।’
जसपाका अध्यक्षद्वय ठाकुर र यादवले कोरोना सङ्क्रमणलाई अझ फैलिन नदिन योजनावद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधि आदिलाई उचि एवम् आवश्यक व्यवस्थापन गर्ने कार्य यथाशीघ्र गर्न सरकारसँग माग गरेको छ ।