९ मंसिर । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अरुणकुमार साहमाथि कारबाहीको माग गर्दै बर्दिवासमा स्थानीयहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा सञ्जयको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेकोले बर्दिवासको पिनाकल हस्पिटलमा भइरहेको छ । त्यस्तै प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा श्याम र अफताब घाइते भएका हुन्, उनीहरूको बर्दिवासको शुभ स्वस्तिकमा उपचार भइरहेको छ ।
मङ्गलबार बिहानैदेखि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बालिका हत्याको आरोप लागेकालाई कारबाहीको माग गर्दै स्थानीयले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन पहिले अश्रुग्यास प्रहार गरिएको र स्थिति साम्य नहुँदा प्रहरीले हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजन चापागाईँले जानकारी दिनुभयो ।
अहिले प्रदर्शन स्थलमा भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।