८ असोज,घोराही –
दाङमा ६ सय २७ वटा सहकारी संस्था रहेका छन् । स्थानीय तहको मातहतमा आएदेखि जिल्लामा २७ वटा सहकारी निष्किृय रुपमा रहेको र ६ सय सक्रिय रुपमा संचालनमा रहेको लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
सचिव खत्रीका अनुसार जिल्लामा अहिले सहकारी ‘मर्ज’ हुने क्रम जारी रहेको छ । ‘ऐनले एकीकरण गर । जहाँ सहकारी संस्था कम छ त्यहाँ खोल, धेरै भएको ठाउँमा संस्थालाई एकीकरण गर भनेपछि ‘मर्ज’ हुने क्रम जारी रहेको उहाँको भनाई छ । सरकारले व्यवस्थापकिय क्षेत्रमा सहयोगी होस् भनेर संस्थालाई ‘मर्ज’ गर्नको लागि बाटो खुल्ला गरिदिएको सचिव खत्रीले बताउनुभयो ।
त्यस्तै जिल्लामा गत आर्थिक वर्षमा देउखुरी क्षेत्रमा ४ वटा सहकारी संस्था ‘मर्ज’ भएर देउखुरी बचत ऋण सहकारी संस्था बनेको उहाँको भनाई छ । यस आर्थिक वर्ष २०७८÷०७९ मा हाम्रो पहुँच सहकारी संस्था र सप्तरंगी सहकारी संस्था ‘मर्ज’ हुने प्रक्रियामै रहेको उहाँले जानकारी दिनुभयो । साथै जिल्लामा बाँकी रहेका सहकारी संस्था मर्जका लागि छलफलमै रहेको उनको भनाइ छ ।।