२०८१ माघ ५ गते शनिवार

घिसिङ विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ



८ भदौ, घोराही –
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ । भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो।

शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुग्नु भएको हो । शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नु भएको थियो ।

सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानूनी भएको उहाँको जिकिर छ । शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने रिटमा जिकिर गरिएको छ ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्