२०८१ माघ ५ गते शनिवार

सुत्केरीलाई जिल्ला बाहिर लैजानुपर्ने दाङवासीको बाध्यता



८ भदौ,दाङ –पछिल्लो समय सुत्केरीलाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता दाङका नागरिकहरुलाई आई लागेको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट तुलसीपुरको राप्ति प्रादेशिक अस्पतालमा रिफर गर्ने र त्यहाँबाट जिल्ला बाहिर रिफर गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । जसका कारण दाङका नागरिकहरुलाई सास्ति झेल्नु परेको छ ।

यस्तै मध्येको एउटा घटना हो, घोराही १८ ढोडेनीकी २६ वर्षीया रमिता सुनारको । सुनारलार्ई सुत्केरी व्यथा लागेपछि हतारहतार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । डेलिभरी हुने समय भएकाले डाक्टरले उहाँको स्वास्थ्य परिक्षण गरे ।

रिपोटले शरीरमा रगतको मात्रा कम देखाएपछि उहाँलाई प्रतिष्ठानले उपचार गर्न आनाकानी गर्यो, कारण थियो रगत अभाव । उहाँको दुर्लभ रक्त समूह बी नेगेटिभ रहेछ । सनारलाई गर्भवति अवस्थामा यस अघि स्वास्थ्य परिक्षण गर्दा दुर्लभ रक्त समूह बी नेगेटिभ रगतको बारेमा जानकारी गराएको थिएन । पहिलो सन्तान सामान्य अवस्थामा घरमै जन्मिएकाले यस बारे उहाँ स्वयंलाई जानकारी थिएन ।

जसले गर्दा उहाँ सामान्य अवस्थामा सुत्केरी गराउन पुग्नुभएको थियो । नजिकै रहेको रक्त सञ्चार केन्द्र घोराहीमा बी नेगेटिभ रगत खोज्दा पनि पाईएन । प्रतिष्ठानले उहाँलाई तत्काल तुलसीपुर रिफर गयो । त्यसपछि राप्तिी प्रादेशिक अस्पतालमा पनि उही समस्या दोहोरियो । बुधवार बिहान ९ बजे प्रतिष्ठानमा पुग्नुभएकी सुनार दिउँसो १ बजे प्रादेशिक अस्पतालमा हुनुहुन्थ्यो ।

व्यथाले उहाँलाई झनझन च्याप्दै थियो । तर , छट्पटीमा बस्नु बाहेक विकल्प थिएन । अस्पतालले उहाँको जोखिम मोलेर सुत्केरी गराउन नसक्ने बतायो । कति बेला के हुने हो सबै अनिश्चित थियो । गर्भमा रहेको बच्चा र आमाको ज्यान थप खतरामा परेको थियो । सामान्य रुपमा सुत्केरी हुने अवस्था रत्तिभर थिएन ।

जीउज्यान जति बेला पनि तलमाथि पर्न सक्ने अवस्थामा पुग्न भएकी सुनारको पीडा शब्दमा उल्लेख गर्न कठिन छ । अस्पतालमा सुत्केरी गराउन सक्ने अवस्था नभएपछि सुनारको स्याहार गर्न संगै जानुभएकी दिदीलाई अब के गर्ने भन्ने निणर्य लिन समस्या भयो । बहिनीको स्वास्थ्य अवस्था झन पछि झन जटिल बन्दै गएको थियो ।

अस्पतालले कोहलपुर लैजान भन्यो । त्यहाँ बी नेगेटिकै रगत भएको र सुत्केरी गराउन सहज हुने आश्वासनपछि एम्बुलेन्समा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल रिफर गरियो । अपरान्ह साढे ३ बजे उहाँलाई कोहलपुर लगियो । अस्पतालले ईमर्जेन्सीमा राखेर स्वास्थ्य अवस्था जाँच गर्‍यो ।

ठाउँमा पुगेको र सहज रुपमा सुत्केरी गराउन पाईएला भन्ने विश्वासमा रहेकी सुनारलाई फेरि अर्को आपत आई लाग्यो । कारण थियो रगत कै । बी नेगेटिभ रगत लिएर आएमात्रै डेलिभरी गर्ने नभए अन्यत्र जान आग्रह गर्दै अस्पतालले भर्ना गर्न मानेन । उहाँलाई थप आपत पर्यो । नयाँ ठाउँ कहाँ कसलाई भन्नु रु प्रशव पीडामा अस्पताल बाहिर छटपटाई रहेकी सुनारको अवस्था देखेपछि बर्दियाकी रमा रोकाले चासो लिनुभयो ।

सबै कुरा बुझ्दा सुनारको शरीरमा हेमोग्लोबिनको मात्रा केही कम देखिएको, सामान्य रुपमा बच्चा जन्मिने अवस्था नभएकी हुँदा अपरेशन गर्नुपर्ने डाक्टरको सुझावमा रोका तत्कालै रगतको खोजीमा लाग्नुभयो । निकै प्रयासपछि बेलकी ५ बजे एक पोको बी नेगेटिभ रगत नेपालगन्जमा पाईयो । सुनारसंगै जानुभएकी सहयोगीलाई तत्काल पठाएर रगत मगाइयो ।

अस्पतालमा सबै प्रकृया पूरा गरेर सुनारको सोहीदिन राति अपरेशन गरेर बच्चा जन्मियो । तर रगतको आवश्यकता भने परेन । रगतकै कारण उहाँले धेरै सास्ति झेल्नु पर्‍यो तर रगत विना नै अपरेशन सफल भयो ।। माडिखबरबाट

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्