८ भदौ, घोराही- आज (मंगलबार) देखि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि वर्षाको मात्रा बढ्दै जाने र बिहीबारसम्म धेरै भारीसम्म वर्षा हुने भएको हो। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पनि तराईभन्दा केही दक्षिण मात्र छ। जसले गर्दा केही दिन नेपालमा वर्षाको मात्रा बढ्ने भएको हो।
अहिले (मंगलबार बिहान) पनि देशैभर मौसम बदली छ भने प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।]
महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ:
भदौ ८ गते मगंलबार (आज)
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना।
रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना।
भदौ ९ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना।
रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना।
भदौ १० गते बिहीबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।
रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। साथै प्रदेश १ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।
नोटः मौसमविद्का अनुसार ‘दिउँसो’ भन्नाले दिनमा (बिहानदेखि दिनभर) भन्ने जनाउँछ। मौसमको अनुमान सामान्यतया ३ दिनसम्मको गरिन्छ।