१० असार, घोराही – धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्दैछन् । कतिपय पालिकाले यसअघि नै पेस गरिसकेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै पालिकामा असार १० गते भित्र आ–आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । वैशाख ३० गते भएको पालिका चुनावबाट ७ सय ५३ मध्ये बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले सबै पालिकालाई अनिवार्य रूपमा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगर सभामा पेस गर्न आग्रह गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकाका प्रमुख तथा उपप्रमुखलाई प्रदेशस्तरमा तालिम दिएर असार १० भित्र आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गर्न आग्रह गरिसकेको थियो ।
यसअघि जेठ १५ गते सङ्घ, सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घ सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।।