२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा रासायनिक मल अभाव



१० जेठ,घोराही – दाङमा रासायनिक मलको अभाव रहेको छ । जिल्लामा चार सय सात मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको र युरिया मल आउँदै नआएकोसहकारी संस्थाले जनाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड लमहीमा दुई दिन अघि २५ टन मात्रै डिएपीमल आएको छ तर मलको आवश्यकता धेरै भएकाले वितरणमा समस्या पर्ने गरेको कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखाका प्रमुख घनश्याम कहारको भनाई छ ।

जिल्लाका तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको छ । घोराहीमा आउने रासायनिक मल रोल्पा, सल्यान र रुकुम पश्चिमसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टिआर गौतमले जानकारी दिनुभयो ।

घोराहीमा अहिले दुई सय ३२ मेट्रिक टन डिएपी स्टक छ । तुलसीपुरमा करिब एक सय ५० मेट्रिक टन डिएपी स्टक छ । डिएपी अबको हप्ता÷दश दिनमा वितरण गरिनेछ । जेठ र असार दुई महिनाको लागि जिल्लाको घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्ने हो तर यो दुई महिनाको आवश्यकता पूरा गर्ने मलनै कृषि सामग्री कम्पनीसँग छैन ।

तुलसीपुर क्षेत्रको लागि एक हजार छ सय मेट्रिक टन युरिया र एक हजार टन डिएपी दुई महिनाको लागि आवश्यक पर्ने भए पनि मल छैन । लमही क्षेत्रको लागि पनि एक हजार मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डिएपी आवश्यक पर्छ तर कृषि सामग्री कम्पनीमा मल छैन । अहिलेसम्म नेपालमा चीन र साउदी अरबबाट रासायनिक मल आउने गरेको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्