२०८१ साउन ५ गते शनिवार

धरहराको २० औँ तल्लाबाट पुष्पवृष्टि गर्दै प्रधानमन्त्री



११ बैशाख,घोराही ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको ६ वर्षपछि पुनर्निर्माण भएर आज प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको हो ।

पुनर्निर्मित धरहराको उद्घाटनपछि लिफ्ट चढेर धरहराको २० औँ तल्लामा रहेको बार्दलीबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्नुभएको छ । भूकम्पले धरहरा ढल्दा ६० जनाले ज्यान गुमाउनुपरेको थियो । सो भूकम्पमा भत्केको धरहरको ठुटो संरक्षण गर्दै नजिकै नयाँ धरहरा बनाइएको हो ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो । विक्रम सम्बत १९९० सालमा आएको भूकम्पले ११ तले धरहरा ९ तल्लेमा सीमित भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाउनुभयो र २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुनः २०७८ मा २२ तल्ले बनाइएको छ ।

३ अर्ब ४८ करोड लागतमा बनेको धरहरा पुनर्निर्माणमा चन्दा र सहयोगबाट उठेकोमा अपुग रकम नेपाल सरकारले व्यहोरेको छ ।यसैविच धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाडौकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुभएको छ ।

धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उहाँ घाइते हुनुभएको थियो । साथै प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पु¥याएकाहरुलाई पनि सम्मान गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्