११ चैत,सिसहनियाँ – दाङको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको अवसरमा सोमबार अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। “हामी क्षयरोग अन्त्य गर्न सक्छौं: लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता” भन्ने नाराका साथ वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी सिसहनियाँमा कार्यक्रम आयोजना गरिएको हो।
वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष चाैधरीले स्थानीय तहबाट क्षयरोग नियन्त्रणका लागि हालसम्म भएका प्रयासको चर्चा गर्दै क्षयरोग न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले समुदायस्तरमा डट्स विधिबाट उपचार प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेविकाको भूमिकालाई प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
स्वास्थ्य शाखा प्रमुख नारायण राउतले क्षयरोग एक व्यक्ति बाट अर्को व्यक्तिमा हावाको माध्यमबाट छिटो सर्ने रोग भएकोले यसलाई रोकथाम गर्न समयमै उपचार र जनचेतना अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले नियमित औषधि सेवन र चिकित्सकको परामर्शपालना गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन पालिकाले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन पदप्रसाद पौडेल र सिनियर अहेब धनबहादुर बुढाक्षेत्रीले क्षयरोग एक संक्रामक रोग भएको र समयमै उपचार सुरु गर्न सकेमा यो पूर्ण रूपमा निको हुने बताउनुभयो। उहाँले क्षयरोग रोकथामका लागि समुदायस्तरमा जनचेतना फैलाउने कामलाई अझ प्रभावकारी बनाउन आवश्यकता रहेको धारणा राख्नुभयो। साथै, डट्स विधिको प्रभावकारिताबारे चर्चा गर्दै यसले रोगीको उपचार प्रक्रिया नियमित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।