२०८१ जेष्ठ ३१ गते बिहिवार

कृषकका लागि अनिवार्य परिचय पत्र उपलब्ध गराउन माग



१० चैत्र,घोराही – कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अस्थायी मुकाम बुटवलले हिजो र आज घोराहीमा आयोजना गरेको कृषि उपज बजारका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कृषकका लागि परिचय पत्र उपलब्ध गराउन र सोही आधारमा कृषि क्षेत्रको प्रक्षेपण गर्न माग गरेका छन् । उनीले अहिलेसम्म पनि कृषि बजार ऐन नभएको बताउँदै कृषकको पहिचान दिन र परिचय पत्र अनिवार्य लागूगर्न माग गरेका हुन् ।

यस्तै, वास्तविक कृषकहरु जहिले पनि राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । लुम्बिनी प्रदेशभरका कृषि उपज बजार संचालक प्रतिनिधि एवं कृषकहरुले कृषकको हीतमा काम गर्न कुनै तथ्यांक नभई व्यवहारिक कार्यान्वयनमा जानुपर्ने सुुझाव दिएका छन् ।
प्रदेशका १२ वटै जिल्लालाई विशिष्टिकृत गर्न जरुरी रहेको उनीहरुको जोड थियो । हरेक जिल्लाको उत्पादनलाई ब्रान्डिङ गर्न र त्यहाँका कृषकले उत्पादन गरेका बस्तुलाई बजारसम्म जोड्ने दीर्घकालीन योजना बनाउन उनीहरुले आग्रह गरेका छन् ।

यसैगरी, पालिकामा अहिले पनि कृषि सम्बन्धि ज्ञान दिने विज्ञ नरहेकाले कृषकले निकै सास्ती व्यहोर्नुु परेको गुनासो गरेका छन् । कृषकको अवस्थाबारे जानकारी लिन र सेवा दिन जिल्लाका हरेक कृषि कार्यालयले भुमिका बढाउनुपर्ने बताउँदै उनीहरुले कृषि सम्बन्धी ठोस योजना ल्याउन र लागू गर्न सक्ने कुरा स्पष्ट पार्न अपिल गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बाँकेका कृषक सन्तबिर सुनार, गुल्मीका दधिराम कँडेल, रुपन्देहीमा रोहितप्रसाद गुप्तालगायतले कृषकलाई बजारसँग जोड्न आग्रह गरे ।

हाट बजार उद्यमी र कृषकबाट उठेका जिज्ञासाको जवाफ दिँदै कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका योजना महाशाखा प्रमुख हरिप्रसाद पण्डितले प्रदेश तह नयाँ भएकोले सिक्ने प्रकृयामा रहेकाले गर्ने जति काम हुन नसकेको स्वीकार गर्नुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले स्थानीय तहले कृषकको क्षमता बढाउन तथा उत्पादित बस्तुको बजारीकरणका लागि समन्वयात्मक काम गर्दै आएको बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्