२०८१ असार ३ गते आइतवार

दाङमा क्षयरोगको उपचार सफलता दर ९३ प्रतिशत, ९०१ जना क्षयरोगी रहेको तथ्यांक



१० चैत,घोराही- दाङमा विश्व क्षयरोग दिवश मनाइएको छ । बिहिवार घोराही उपमहानगरपालिका वडा नं. ५ गैरीगाउँमा छलफल कार्यक्रमको आयोजना गरी दिवश मनाइएको हो । नेपाल क्षयरोग निवारण संस्था दाङको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय र घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागि सरोकारवालाले क्षयरोग चुनौतीको बिषय बन्दै गएको बताएका छन् । पछिल्लो समयमा खुलेका सिमेन्ट उद्योगको प्रर्दुशण तथा बायू प्रदुर्षणका कारण फोक्सोमा समस्या हुने र क्षरोगका विरामी बढ्ने बताएका हुन् । क्षयरोगको अवस्था हेर्दा पनि जिल्लामा जटिल देखिएको छ । अहिले ९ सय एक जना क्षयरोगका बिरामी रहेको राष्ट्रिय क्षयरोग केन्द्र (किड्स)को तथ्यांकमा उल्लेख छ ।

कार्यक्रमा स्वास्थ्य कार्यालय दाङका क्षय तथा कुष्ठ रोग अधिकृत डम्बर बहादुर कवँरले जिल्लामा क्षयरोगका विरामीको उपचार सफलता दर ९३ प्रतिशत भएको बताउनुभयो । पहिले क्षयरोगका बिरामीहरुलाई घृणाको दृष्टीले हेर्ने गरिएपछि अहिले भने क्षयरोग प्रतिको दृष्टीकोण बदलिदो रहेको बताउनुभयो ।

कार्यक्रममा किड्स नेपालका कार्यक्रम संयोजक माधव खनालले अहिलेपनि क्षयरोगका विरामीहरु लुकेर रहेको बताउनुभयो । जिल्लाका ९०१ जना तथा नेपालभर २७ हजार राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएपनि ३५ देखि ४० हजार बिरामीको संख्या लुकेर रहेको आँकलन गर्नुभयो । क्षयरोग उपचार गरे निको हुने रोग भएकाले कुनै लाज डर नमानी उपचार तर्फ लाग्न सुझाव दिनुभयो । अहिले जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जिन एक्सपट मेसिन राखिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र (किड्स)अन्तर्रगत ४६ वटा डट्स सेन्टर, ३२ वटा माइक्रोस्कोप सेन्टरलार्ई सहयोग गर्दे आएको छ ।

दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट क्षयरोगका बिरामी प्रतिलाख २० जनाभन्दा कममा झार्ने उद्देश्य लिएको छ । सन् २०३५ सम्ममा विश्वबाट क्षयरोगको अन्त्य गर्ने लक्ष्य छ । नेपालले उल्लेखित लक्ष्यहरूलाई आत्मसाथ गर्दै सन् २०५० सम्ममा क्षयरोगलाइ प्रति दश लाखमा एक भन्दा कम गर्ने लक्ष्य लिएको छ ।

नेपाल क्षयरोग निवारण संस्था दाङका अध्यक्ष खिमलाल डाँगीको अध्यक्षता तथा घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको बिशेष उपस्थितिमा कार्यक्रम भएको थियो । स्वास्थ्य कार्यालयका अधिकृत बामदेव शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिव लाल बहादुर रावतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्