११ चैत्र,घोराही ।
दाङमा यही चैत्र २० गते देखी हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाईने भएको छ । सबै नागरिकहरुले औषधी सेवन नगर्दा हात्तीपाईले रोगको निबारण हुन नसकेको र सरकारले दाङमा ११ औँ चरणमा फेरी आम औषधी खुवाउन लागेको हो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार शिक्षीत बर्गका व्यक्तिहरुले नै औषधी नखादा अभियान नै प्रभावित भएको निष्कर्ष निकालेको छ । गतबर्ष दाङमा ६५ प्रतिशत नागरिकले मात्रै औषधी खाएका थिए ।
लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने हात्तीपाईले रोग लागेपछि हात खुट्टा, स्तन र यौनअंग सुन्नीने स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । केही महिना पहिले दाङका घोराही, तुलसीपुर, राजपुर, गढवा र लमहीमा गरिएको नमूना जाँचमा एक सय ५८ जनामा पोजेटिभ देखिएको थियो ।
सन् २०२६ सम्म संक्रमणको दरलाई एक प्रतिशत भन्दा तल झार्ने सरकारको योजना रहेको उहाँको भनाई छ । यो औषधी २ बर्ष भन्दा मुनिका र सिकिस्त बिरामीले खान नहुने भनिएको छ ।
यसैबिच घोराही उपमहानगरपालिकाले हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन योजना बनाएको छ । भोली देखी १९ गते सम्म स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकाहरुलाई तालिम, वडामा योजना तर्जुमा गर्ने लगाएतका कार्यक्रमको योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।
साथै २० गते विभिन्न केन्द्रहरुमा र २१ देखी २६ गते सम्म घर भेट मार्फत औषधी खुवाउने नगरले योजना बनाएको छ ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले रोग लाग्नु भन्दा लाग्नै नदिन औषधी खाने कार्यक्रम सरकारले ल्याएको बताउनुभयो । सबै नागरिकहरुलाई औषधी सेवनमा सहभागि भई स्वस्थ रहन समेत उहाँले आग्रह गर्नुभएको छ ।।