२०८१ माघ ४ गते शुक्रवार

कोरोना कहरः नेपालमा कञ्चनपुरबाट सुरु भयो निषेधाज्ञा



११ चैत,घोराही । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारतबाट फर्केकाहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पछिल्लो २ दिनमा कैलाली र कञ्चनपुरका गरी तीन जना भारतबाट फर्केकाहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै पश्चिमी जिल्लाहरुमा कडाई गरिएको हो । सुदूरपश्चिम प्रदेका विभिन्न भारतसँग जोड्एिका नाकामा आउजाउमा कडाई गर्नुका साथै शंकास्पद व्यक्तिको आरडिटी परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि सुरु भएको छ । यसै क्रममा कञ्चनपुरमा मध्यरातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ ।

गयराति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । उनले बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म मात्र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी आवश्यक काममा निस्कनका लागि सबैलाई आग्रह गरिएको पनि बताए ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले धार्मिक तथा सामाजिक स्थलमा भौतिक दुरी पालना गर्ने, अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म मात्रै गर्ने, आइरहेको होली पर्व, मेला महोत्सव, जात्रा, भिडभाड हुने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ ।

यस्तै सरकारले तोकेका व्यवस्थाको उल्लंघन गरेमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्