१२ फागुन, सल्यान- सल्यानमा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रमा टिमुरको उत्पादन बढ्दै गएको हो । जङ्गली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसान पछिल्लो समय टिमुरको व्यावसायिक खेतीतर्फ लागेका छन् । सिद्धकुमाख गाउँपालिका –४ का दिनेश रावतले आफ्नो पाखोबारीमा टिमुर खेती गर्दै वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताउनुभयो । अर्का किसान सिद्धकुमाख–३ चिनालीका शेरबहादुर पुनले टिमुर खेतीबाटै वार्षिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको बताउनुभयो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानले टिमुर खेतीलाई थप प्रभावकारी बनाउन किसानलाई तालिम, प्राविधिक सहयोग, बीउ विजन र बजार व्यवस्थापनमा सहयोग गरिरहेको छ ।
कार्यालय प्रमुख श्यामलाल खरालले अहिले बजारमा प्रशोधन गरेको टिमुरको मूल्य प्रति किलो ८ सयसम्म पर्ने बताउनुभयो । डिभिजन वन कार्यालय सल्यानकाअनुसार जिल्लामा ७० हेक्टर क्षेत्रफलमा टिमुर खेती भइरहेको छ । जसबाट एक लाख एक हजार ६ सय ५० केजीभन्दा बढी टिमुर उत्पादन हुने गरेको छ । अहिले विशेषगरि बागचौर र शारदा नगरपालिका, छत्रेश्वरी, सिद्धकुमाख गाउँपालिकालगायतका पहाडी क्षेत्रमा टिमुर खेती भइरहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार