१२ फागुन,घोराही – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताउनुभएको छ ।
स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि राष्ट्रिय नाचघर जमल पुग्नुभएका मन्त्री आलेले कलाकार देश चिनाउने सच्चा देशभक्त भएको बताउनुभयो ।
देशमा अहिले देखिएका विकृति, विसङ्गतिहरू चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेका भुमिका निकै अहम् भएको मन्त्री आलेले बताउनुभयो ।
लामाजस्ता कलाकारहरू देशले बिरलै पाउने बताउँदै मन्त्री आलेले कला, संस्कृतिको तथा कलाकारको जगेर्ना गर्न सक्नु राष्ट्रको मुख्य दायित्व भएको बताउनुभयो । उहाँले यसमा आफू र सिङ्गो मन्त्रालय लागिपर्ने आश्वासन पनि दिनुभयो ।।