१२ फागुन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ । बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आह्वान गर्ने निर्णय गरेका छौँ ।’
बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टी एकताको पक्षमा हामी सँधै छौँ । हिजो पनि थियौँ । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्यो भनेर बहस गर्दा ओलीजीले संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्यत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो । हामी त्यसको विरोध गरेका हौं र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ,’ उनले भने, ‘तर पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुन सक्छ ।’
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो पार्टीले केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनेर भनिसकेको छ । अहिले सम्म उहाँले दिनुभएको छैन । त्यसो नभएको अवस्थामा पनि अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधिसभाको बैठक बस्दै छ र प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ ।’
बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहरसमेत गरेको छ । अदालतको निर्णयले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । ‘हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर, बदर गरेर प्रतिनिधिसभालाई पुनर्स्थापित गर्ने जो फैसला सुनाएको छ त्यसलाई पार्टीले ऐतिहासिक फैसला भनेको छ । यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै गरेको छैन यसले संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ,’ उनले भने, ‘यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्युहमा राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतरा थियो त्यो खतराबाट पनि देशलाई बचाउन योगदान पुर्याएको छ । त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टी स्थायी कमिटीले उच्च मूल्याङ्कन गरेको छ ।’फरकधारबाट