७ मंसिर, काठमाडौँ – निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन गरिने निर्वाचन आयोगद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन गरिने विज्ञप्तिमा उल्लेख छ ।
हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ ।
आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरूको विवरण सङ्कलन गर्ने गरेको छ । तर, मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ । आयोगले सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण सङ्कलन गर्ने व्यवस्था गरेको छ ।