२०८१ चैत्र १३ गते बुधवार

दुई पत्रकारको ‘बार्गेनिङ’ अडियो बाहिरियो !



८ मंसिर । कैलालीका दुई पत्रकारले आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घट्नाहरु बहिरीएका छन् । नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश बिक र नाईस टेलिभिजनमै आबद्ध गोविन्द विसीले कैलालीका विभिन्न व्यक्तिहरुलाई ‘डर’ देखाएर आर्थिक बार्गेनिङ गरेको खुलासा भएको छ ।

उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बाहना बनाएर ठगी गर्ने जस्ता घटनाहरु बाहिरिएका हुन् ।

केही समय आर्थिक दैनिकमा कार्यरत पत्रकार बिक यस्तै ‘बार्गेनिङ’ का घट्नाहरु बहिरिएपछि निष्कासनमा परेका थिए । यतिबेला भने आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगतनै बद्नामित भएको भन्दै सञ्चारकर्मीहरुले पत्रकार बिकलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल रंगाएका छन् । पत्रकारहरुले सञ्चारकर्मीकै ग्रुप च्याटमा बिकको आलोचना गर्दै त्यस्ता व्यक्तिलाई बहिस्कार गरिनुपर्ने माग राखेका छन् । पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगी गरेका घटना बाहिरिएपछि राज्यको चौथो अंग लज्जित बन्नु परेको धनगढीका पत्रकारहरुको भनाइ छ ।

घटना १

हिमेश बिक र गोबिन्द बिसीले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्री वास्तव मेडिकल हलका सञ्चालकबाट एक लाख असुल्न पटक–पटक धम्की दिएको अडियो सार्वजनिक भएको छ । उनीहरुले मेडिकल सञ्चालक कमलेश सक्सेनाकी श्रीमती लिला सुनारलाई डर देखाई धम्काएर २५ हजार असुल गरेको र थप ७५ हजार रुपैयाँ दिनुपर्ने भन्दै टेलिफोनमा ‘बार्गेनिङ’ गरेको घटना बाहिरिएको हो ।
बिक र बिसीले सुरुमा दुई लाखमा ‘बार्गेनिङ’ गरेको र पछि एक लाख रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिएको सञ्चालक कमलेश सक्सेनाले बताए । उनले भने–‘श्रीमती लिलाबाट तपाईलाई आवश्यक समस्या परे सहयोग गर्ने भन्दै रकम असुल गरे, थप पैसा माग्न अझै पटक–पटक तनाव गरिरहेका छन् ।’

घटना २

अत्तरियाका एक व्यापारीसंग फर्निचर लिएर हिमेश बिकले पैसा नभएको चेक दिएको अर्को घट्ना बाहिरिएको छ । उनले दिएको चेकमा पैसा नभएको र त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको पीडितले गुनासो गरेका छन् ।
बिकले सानिमा बैकंको चेक दिएको भएपनि अहिलेसम्म पैसा नपाएको फर्निचरका सञ्चालकले गुनासो गरेका छन् ।

घटना ३

हिमेश बिकले कैलालीका दुई जना उप–मेयरलाई टेलिभिजनमा अन्तर्वार्ता गराउने भन्दै काठमाडौं लगेर होटलमा राखी पैसा नतिरेरै भागेको घटना सार्वजनिक भएको छ । ती उप–मेयरहरुलाई काठमाडौंमा घुमाउन उनले आठ दिनसम्म प्रयोग गरेको ट्याक्सी भाडा समेत नतिरेको खुल्नमा आएको छ ।

विकले दैनिक पाँच हजारको दरले ट्याक्सी चढेको चालक गोकर्णप्रसाद घिमरेले आइतबारको सिधाकुरा जनता कार्यक्रममा आएर गुनासो गरेका थिए । उनले आठ दिनको ४० हजार र २१ हजार नगद ट्याक्सी चालकसंग सापटी लिएको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन बनेको भन्दै उनले कार्यक्रमै गुनासो गरेका थिए ।

घटना ४

हिमेश बिकले धनगढीका स्टेशनरी सञ्चालक तथा पत्रकार डिल्ली ओझाको २० हजार बढी रकम लामो समयसम्म नदिएपछि उनका बुवाबाट आधा रकम असुल गरेपनि बाँकी रकम दुई वर्षदेखि नदिएको ओझाले बताए ।

बिक र बिसीले कैलालीलगायत विभिन्न ठाउँमा पत्रकारको परिचय दिएर ठगी र ‘बार्गेनिङ’ गर्ने सञ्जाल बनाएका छन् । उनीहरुले रकम नभएको चेक दिने, उधारो खाने, समाचार प्रकाशन गरिदिनेभन्दै रकम बार्गेनिङ गर्ने, विभिन्न बाहना बनाएर ठगी गरेर हिड्दै गरेका घटनाहरु सार्वजनिक हुँदै गएका छन् ।

यी घटनाहरुको बिषयमा पत्रकार बिकले भने खण्डन गरेका छन् । उनले आरोप प्रमाणीत भए सजाय भोग्न तयार रहेको बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्