७ भदौ,घोराही –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परे। त्यस्तै विपक्षमा मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले जनाए।
मतदानमा ४२ सदस्य सहभागी भएका थिए। उपसभामुख कृष्णी थारू सदनमै रहेपनि मत व्यक्त गरिनन्। उनी एमालेबाट उपसभामुख निर्वाचित भएकी थिइन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य कायम छन्। विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्।
नेकपा (एमाले)का सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी वली खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन।