७ भदौ, घोराही –
रोल्पामा छोराले बल्दै गरेको अगुल्टो प्रहार गरि बुवाको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका ४ चालढुङका २५ बर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिन नेपालीको गयराति अगेनामा बल्दै गरेको चिरपटसहितको अगुल्टाले कञ्चटमा प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले छोराको अगुल्टो प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएपछि उनीहरुले शव खाटमा सुताएर राखेका थिए । तर, प्रहरीलाई भने लक्षिणको लडेर मृत्यु भएको भन्ने खवर गरिएको थियो ।
घटना लगतै पुगेको प्रहरीले घरको भुइ भर्खरै माटोले तिलपोत गरेको देखेपछि आशंका लागेर अनुसन्धान गर्दा चुल्होमा बल्दै गरेको चिरपट दाउरामा कपाल र रगत समेत फेला पारेपछि तत्कालै छोरा केशबबहादुरलाई पक्राउ गरेको डिएसपी सुबेदीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी सुबेदीले बताउनुभएको छ ।।