२०८१ साउन ५ गते शनिवार

राजपुरमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क शिक्षा



९ असार, देउखुरी- राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा शिक्षा, पूर्वाधार विकास, कृषि, भू–उपयोग, उद्यमशीलता विकास, स्वस्थ्य तथा सेवा प्रवाहलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउदो वर्ष पनि माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट तर्जुमा गर्ने जानकारी दिनुभयो ।

पढ्दै कमाउँदै कार्यक्रमलाई थप विद्यालयमा विस्तार गर्दै विद्यार्थीहरुलाई आयआर्जनसँग प्रत्यक्ष जोड्ने, शिक्षकको अभावलाई पूर्ति गर्न दरबन्दी मिलान तथा थप स्वयंसेवक शिक्षक परिचालन गर्ने, करारका कर्मचारी तथा शिक्षकको तलब भत्ता स्वयंसेवक शिक्षकको विद्यमान निर्वाह भत्तामा पुनरावलोकन गरिने, राष्ट्रपति रनिङ शिल्ड, गाउँपालिकास्तरीय खेलकूद, नाकास्तरीय खेलकूदलाई थप स्तरीय बनाइने, युवाहरुलाई स्वस्थ, सक्षम र अनुशासित नागरिक बनाउन खेलकूदलाई प्रबद्र्धन गर्ने, कटवेरुवा पिकनिक स्पट, साफ्टे सिंचाई आयोजना जस्ता आयोजनाका काम सम्पन्न गरिने, जीतबहादुर सिंचाली मार्गको थप स्तरोन्नति गर्ने, जैविक विविधता संरक्षण, सिंचाई तथा पर्यावरणीय दिगोपनाका लागि सम्भाव्य स्थानहरुको पहिचान गरी पोखरी, जलाशय तथा रिचार्ज पोखरीहरुको निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

सम्पन्न योजनाहरुको दिगोपना तथा गुणस्तर परीक्षणका लागि सिभिल ल्याब स्थापना गर्ने, अधुरा योजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिइने, विद्युतको पहुँच नपुगेका स्थानहरुमा सिंचाई तथा खानेपानीका लागि सोलार लिफ्ट सिंचाई आयोजनाको विस्तृत अध्ययन गरिने, नाका क्षेत्रका पहुँचमार्गहरुलाई बाह्रै महिना सञ्चालन हुनेगरी बजेट व्यवस्था गरिने, खानेपानीको समस्या रहेका नाका क्षेत्रहरुमा आवश्यक अध्ययनगरी खानेपानी आयोजना निर्माणका लागि पहल लिने, सडक, सिंचाई, खानेपानी आयोजनाहरुका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने, कृषि विकासका लागि साझेदार विभिन्न गैर सरकारी संस्थाहरुसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने, भूमिहीन तथा सुकुम्बासी न्यून जग्गा भएका गरिब किसानलाई स्वरोजगार बनाउन भूमि बैंकको अवधारणासहित करार खेतीसम्बन्धी कार्यविधि बनाई लागु गर्ने, माटोको उर्वराशक्ति पहिचानका लागि माटो जाँच गरिने, गाउँपालिकास्तरीय एक आधुनिक र सुविधा सम्पन्न सभाहल र १५ शैøयाको अस्पताल निर्माणको काम शुरु गरिने, थप एम्बुलेन्स र दमकल सेवा सञ्चालन गरिने, गृहणीका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिने, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य शिविरलाई थप विस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

निर्माणाधीन वडा कार्यालयहरु सम्पन्न हुने, गाउँपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप सूचना प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाइने, नाका क्षेत्रका सबै एकीकृत सेवा केन्द्रहरु आउदो वर्ष सम्पन्न हुने, गाउँपालिका र पालिकाअन्तर्गतका कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन चौमासिकरुपमा समीक्षा तथा सार्वजनिक सुनुवाईलाई निरन्तरता दिइने, राजश्वको दायरा विस्तार तथा आन्तरिक स्रोतमा सुधारका लागि एकीकृत सम्पत्ति कर लागु गरिने, व्यवस्थित, दिगो र सुरक्षित आवासका लागि घरनक्सा पास कार्यको थालनी गरिने, नियमित बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण कार्यलाई निरन्तरता दिइने, गाउँपालिकास्तरीय युवा परिषद्लाई सक्रिय बनाइने, युवाहरुको क्षमता विकास गर्न कार्यक्रम गरिने, उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई प्राथमिकता दिइने, साथै उपभोक्ता समितिको क्षमता विकासको लागि अभिमुखीकरण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै एकल महिला तथा एकल बालबालिकाका लागि निवाससम्बन्धी नीति अवलम्वन गरिने भएको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्