९ असार, घोराही – जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला शिक्षा समिति संयोजक नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजि क्षेत्रको अहम् भुमिका रहेको बताउनुभएको छ । उहाँले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाइ आग्रह गर्नुभयो ।
राप्ती इन्जिनियरीङ कलेज, घोराहीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरणका लागि आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि शर्माले मुलुकभरी सरकारी तीन वटा मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करीव डेढ दशक अघिनै राप्ती इन्जिनियरीङ कलेजले प्राविधिक शिक्षाको आवश्यकता बोध गरेको भन्दै शर्र्माले प्राविधिक शिक्षाका हरेक विधामा अव स्थानीय तहमै पठनपाठनको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत डा. शैलेन्द्र गिरीले आफुहरुले यहाँका निम्न तथा मध्यमवर्र्गीय समुदायका विद्यार्र्थीलाई प्राविधिक शिक्षा यहिनै दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र वर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गर्नुभयो ।
उहाँले अव शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न लागेको बताउंदै राप्ती इन्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुलेसामुदायिक विद्यालयहरुमा कम्तिमा एक साता निशुल्क रुपमा अध्यापन गराउने पनि अवगत गराउनुभयो ।
कार्यक्रममा कलेजका निर्देशक मधुसुदन वैद्यले देश निर्माणमा राप्ती इन्जिनियरीङ कलेजका विद्यार्र्थीहरुको महत्वपूर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्र्थीहरुलाई आग्रह गर्नुभयो । राप्ती इन्जिनियरीङ कलेजका प्रवन्ध निर्देशक भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसमा अध्ययनरत विद्यार्थी सत्यसिंह रोकाय र गौरी चौधरीले गर्नुभएको थियो । विसिए दोस्रो वर्ष तथा विइ सिभिल प्रथम वर्षका विद्यार्थीहरुले स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका हुन् । अभिमुखीकरण भने भोलिसम्म चल्नेछ ।