९ जेठ, रोल्पा – रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ। शनिबार दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका २ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो।
बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताउनुुभयो। एके ४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन–६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो।
त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन्।
स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन्। त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुुभयो। गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन्। दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीले गहिरो अनुसन्धानलाई अघि बढाएका छन्।।