१० बैशाख, काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आग्रह गरेको छ । संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो । आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न भनेको छ । वागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था छ । नेकपा माओवादी केन्द्रबाट २०७४ को चुनावमा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गर्नु भएको थियो । त्यही रिक्त पदका लागि उपचुनाव हुन लागेको हो ।
सांसद पद हटेसँगै थापाको गृहमन्त्री पद पनि गएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गरेका थिए ।