१० चैत, घोराही – लुम्बिनी प्रदेश सरकारले अपेक्षित राजश्व संकलन गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्ष ०८१/८२ को फागुन मसान्तसम्म आठ महिनाको अवधिमा लक्ष्यको २६ दशमलव ३८ प्रतिशत मात्रै राजश्व संकलन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीले जनाएको छ ।
प्रदेश सरकारले चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलनको लक्ष्य राखेकोमा आठ महिनाको अवधिमा जम्मा एक अर्ब २४ करोड २९ लाख ७० हजार आठ सय ३७ रुपैयाँ ६१ पैसा मात्रै संकलन गरेको छ ।
जुन वार्षिक लक्ष्य भन्दा तीन अर्ब ४६ करोड ९१ लाख १२ हजार एक सय ६२ रुपैयाँ ३९ पैसा कम हो । चालु आवको शुरुदेखि नै लुम्बिनीमा लक्ष्यअनुसार राजस्व संकलन हुन सकिरहेको छैन ।
चालु आर्थिक वर्ष ०८१÷८२ को पहिलो चौमासिक साउनदेखि कार्तिकसम्म लुम्बिनीको आन्तरिक राजश्व लक्षको १२.३२ प्रतिशत मात्रै संकलन भएको थियो । दोस्रो चौमासिकमा पनि त्यसकै हाराहारीमा संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।।